Press ESC to close

FIEUN Wishing Ceremony 2024 (in Nepali)

नमस्कार,

नेपाल वित्तीय सँस्था कर्मचारी संघ नेपाल राष्ट्र बैंक केन्द्रीय समितिद्वारा विजयादशमी, तिहार, छठ एवम् नेपाल सम्बत् ११४५को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका अध्यक्षज्यू, प्रमूख अतिथि, अथिति लगायत सम्पूर्ण उपस्थित महानुभावहरु ।

आउदै गरेका नेपालीहरुको महान चाड तिहार, नेपाल सम्बत् ११४५, छठ, ल्होत्सार लगायत सम्पूर्ण राष्ट्रिय पर्वहरुको उपलक्ष्यमा यहाँहरु सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

विषय उठान

  • शुभकामना आदानप्रदानका लागि मलाई उपलब्ध भएको यस अवसरलाई सदुपयोग गर्दै केहि विषयबस्तुहरु उठान गर्न म यहाहरुको केहि समय अनुरोध गर्न चाहन्छु।
  • हिजोआज निरन्तररुपमा उठ्दै आएका र अन्य बक्ताहरुले समेत उठाउनु हुने कर्मचारी सेवा बिनियामावाली संशोधन, नव निर्मित भवनहरुमा विभागहरुको स्थानान्तरण र भिजन होटेलका विषयहरु म दोहोर्याउन चाहन्न।
  • एक सबल र सु-संस्कृत केन्द्रीय बैंकको रुपमा हामीले गर्ब गर्नसक्ने गरी सँस्थालाई यस स्थानसम्म ल्याईपुर्याउन योगदान गर्नुहुने सम्पूर्ण अग्रज सर/म्यामहरु प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।
  • साथै, यस संस्थालाई अझ सबल र बिकसित रुपमा पछिल्लो पिढीहरुसम्म हस्तान्तरण गर्न सकियोस् भन्ने हेतुले केहि साना तर महत्वपूर्ण विषयहरु उठान गर्न चाहन्छु ।

Modernization and Mechanization:

  • नेपाल राष्ट्र बैंकको दीर्घकालिन सोचको रुपमा रहेको आधुनिक, गतिशील र प्रभावकारी केन्द्रिय बैंक बनाउन आवश्यक सूचना प्रविधि र पद्दतिहरु अबलम्बन गर्न हामीले अब ढिला गर्नु हुदैन।
  • अन्तराष्ट्रिय असल अभ्यासहरुलाई अनुसरण गर्ने भन्दै पटक पटक छलफल हुने, योजनामा समावेश हुने र कर्मचारी संघसंगको सामुहिक सौदाबाजीमा समेत सहमति जनाईसकिएको Workflow Management System र Document Management System लागू गर्न हामी अझै सकिरहेका छैनौ । नेपाल सरकारका कतिपय निकायहरुमा समेत लागू भैसकेको यस्तो प्रणाली अबलम्बन नगर्दा हाम्रो निर्णय प्रक्रिया अपारदर्शी र अप्रभावकारी बनाएको मात्र छैन, हाम्रो मानसिकता दशकौ पुरानो कागजी ढड्डा प्रक्रिया मै मात्र बिश्वास गर्ने तहमा सिमित भएको भान हुने गरेको छ ।
  • नयाँ प्रणाली लागू गर्ने विषयमा मात्र हामी पछि परेको होइन, विद्युतीय संचारको प्रारम्भिक साधनको रुपमा कर्मचारीहरुलाई उपलब्ध गराइएको इमेलमा हाल निर्धारित भण्डारण क्षमता समेत हामी विस्तार गर्न सकिरहेका छैनौ । इनबक्स भरिएर नयाँ इमेल नै आउन नसक्ने अवस्थाले गर्दा कार्यालयभित्र मात्र होइन बाहिरबाट सुचना सम्प्रेषण गर्ने बैंक-वित्तीय सँस्थाहरुमाझ समेत सँस्थाको गरिमा घट्ने अवस्था आइसकेको छ ।

यसर्थ केन्द्रिय बैंकलाई Modernization र Mechanization गर्ने हाम्रा नीतिहरु परिक्षाका उत्तरपुस्तिकायोजना पुस्तिकाहरुबाट अगाडी बढेर कार्यान्वयन पुस्तिकाहरुमा समेत सुचिकृत हुन सकुन भन्ने कामना गर्न चाहन्छु ।

कर्मचारीको वृत्तिविकास र क्षमता विस्तार सम्बन्धमा

  • कर्मचारीहरुको मनोबल र क्षमता विकासका लागि बैंकले उपलब्ध गराउने अवसरहरुको न्यायसंगत वितरण हुन नसकेको सम्बन्धमा बारम्बार सबालहरु उठिरहने हुँदा सो विषयलाई थप दोहोर्याई रहनु परेन ।
  • तर अवसरहरुको मात्र होइन बैंकका कामहरु समेत कर्मचारीहरु वीच तर्कसंगतरुपमा वितरण हुन सकेको देखिदैन, काम गर्ने कर्मचारीहरुलाई कार्यभार थप्दै जाने र काम पन्छाउने कर्मचारीहरुलाई उन्मुक्ति दिने परिपार्टीलाई अबिलम्ब सुधार गर्नुपर्ने अवस्था देखीन्छ।
  • कामको समान र न्यायोचित वितरण नहुँदा सँस्थालाई पर्ने यावत् हानिका अलावा बजारबाट उत्कृष्ट र सर्वोत्कृष्ट भनि छनौट गरिएका कर्मचारीहरुको क्षमता सदुपयोग हुन नसकी संस्थाको उत्पादन र कर्मचारीको उत्पादकत्वमा समेत ह्रास आउने देखिन्छ ।
  • बैंकले सम्पादन गर्ने महत्वपूर्ण कार्यहरुको जिम्मेवारीमा लामो समयसम्म सिमित कर्मचारीलाई मात्र पदस्थापन गरिदा कर्मचारीहरुको विकासमा मात्र बाधा पारेको हुदैन, सिमित व्यक्तिमाथि सँस्थाको अधिक निर्भरताले सँस्थाको व्यबसाय निरन्तरतालाई समेत कमजोर पार्ने अवस्था आउने देखिन्छ ।

यसर्थ, काम र अवसरको न्यायोचित वितरण गर्दै कर्मचारीहरुले काम गरेनन् भनेर कतिपय अवस्थामा उठ्ने गरेको सवालहरुलाई समेत बैंक व्यवस्थापनले आफ्नो व्यवस्थापकीय कुशलता मार्फत सम्बोधन गर्न सकोस् भन्ने कामना व्यक्त गर्न चाहन्छु ।

बैंकको संरचनात्मक सुधार

  • पछिल्लो समय बैंकको आकार र संरचनालाई लिएर केहि सवालहरु उठ्ने गरेका छन् ।
  • बिक्रम सम्बत् २०४५ साल तिर ३३०० भन्दा माथि रहेको कर्मचारी संख्या बैंकलाई चुस्त-दुरुस्त बनाउदै हामीले हाल एघार सयको हाराहारीमा सिमित गरेका छौं । तर पछिल्लो समय कर्मचारी संख्या मात्र होइन बैंकको भूमिका समेत संकुचन हुने र बैंकले सम्पादन गर्दै आएका कार्यहरु क्रमिकरुपमा त्याग र हस्तान्तरण गर्दै बैंक नै डाउन-साईजिङ्ग हुदै गएको देखिन्छ ।
  • बैंकका कतिपय विभागहरुमा कर्मचारीको आवश्यकता र पदस्थापन न्यायोचित देखिएको छैन भने प्रादेशिक कार्यालयको आकार झनै संकुचित हुदै गइरहेको छ ।
  • बजारमा बैंक वा हाम्रो परिचय भनेको हामीले सम्पादन गर्ने कामहरुको आयतन र गुणस्तरले निर्धारण गर्ने सन्दर्भमा, पछिल्लो अवस्थामा बजारको मागबमोजिम बैंकले निर्वाह गर्नसक्ने भूमिका समावेश गर्दै र बैंकका प्रादेशिक कार्यालयहरुको भूमिका विस्तार गर्नसके मुलुकको अर्थतन्त्र र वित्तीय क्षेत्रमा योगदान पुग्ने मात्र होइन कर्मचारीहरुको वृत्तिविकासका सवालहरुलाई समेत सम्बोधन गर्ने अवसर दिन सकिन्छ ।

यसर्थ, बैंकले बस्तुनिस्ठ रुपमा आफ्नो विशेषज्ञताका क्षेत्रका कार्यहरु समावेश गर्दै अगाडी बढ्न सकोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।

बैंकका नीतिहरुको संचार

  • पछिल्ला केहि वर्षहरुमा मुलुकका स्वायत्त सँस्थाहरु माथि जानिदो/नजानिदो तरिकाले राजनैतिक दल र साशकहरुको हस्तक्षेप बढ्दै गएको देखिन्छ ।
  • सँस्थाहरुलाई स्वायत्त र स्वतन्त्ररुपमा कार्य गर्न नदिदा प्रणालीगत समस्या आउने देखि लिएर मुलुककै अस्तित्व संकटमा पर्ने देखिन्छ ।
  • बैंक र बैंकले अंगिकार गरेका नीतिहरुका सम्बन्धमा सर्वसाधारण र सरोकारवालाको चासो बढ्दै गरेको देखिन्छ ।
  • बैंकले जारी गरेका नीतिहरुको मर्म र उद्देश्यलाई स्पष्ट पार्न नसक्दा कतिपय अवस्थामा बैंक आलोचित समेत हुनु परेको छ ।
  • बैंकले जारी गर्ने नीतिहरुको बस्तुनिस्ठ समिक्षा र मुल्यांकन नगरी राजनैतिक दल र तिनका शिक्षित भनिएका नेता/कार्यकर्ताहरुले समेत आफ्नो राजनैतिक लाभ/हानि र लोकप्रियताका लागि गलत प्रचार समेत गर्ने गरेको तीतो अभ्यास हाम्रो प्रणालीमा रहेको परिप्रेक्ष्यमा
  • तसर्बैंथ, कले जारी गर्ने नीति, निर्देशन, मार्गदर्शनहरु जारि भएपश्चात् संचार माध्यममा सर्वसाधारणसमेतले बुझ्ने भाषामा ब्याख्या समेत सम्प्रेषण गर्नु उपयुक्त हुने देखिन्छ ।
  • साथै बैंकभित्रका यथासक्य धेरै कर्मचारीहरुलाई उपयुक्त माध्यममार्फत ज्ञान आदानप्रदान र अन्तरक्रिया गर्नसके ती नीतिहरुको स्वामित्व लिने तथा कर्मचारीहरु मार्फत नै बजारका भ्रमहरु समेत चिर्न सकिने अपेक्षा गर्न सकिन्छ ।

पछिल्ला केहि सवालहरु

  • पछिल्लो समयमा हामीहरु बैंक भित्र केहि चुनौती देखापरेमा सोलाई उपयुक्त विधिमार्फत सम्बोधन गर्दै अगाडी बढ्ने भन्दापनि मुहान नै बन्द गर्ने तर्फ अग्रसर भएको देखिन्छ।
  • उदाहरणको रुपमा NRNA भवनका विभागहरुमा कार्यरत कर्मचारीहरु आवजावत गर्न केहि समय अघि खुल्ला गरिएको केन्द्रिय कार्यालय परिसरको पश्चिम तर्फको गेट सुरक्षाको बहानामा बन्द गरिएको छ।
  • त्यसै गरी विभागहरुमा उपलब्ध हुदै आएको वाईफाई सुविधा विकल्प तयार नगरी बन्द गरिएको छ। बैंकले कर्मचारीहरुलाई लाखौ खर्च गरेर ल्यापटप चाही उपलब्ध गराउने तर वाईफाई बन्द गर्ने परिपार्टीले बैंकलाई फाइदा पुर्याउने आंकलन गर्न सकिदैन ।
  • यी सवालका अलावा केन्द्रिय परिसरमा देखिदै आएको सवारी साधन पार्किंङ्गको समस्या भावी दिनमा झन् जटिल बन्दै जाने सन्दर्भमा आवश्यक व्यवस्थाका लागि बेलैमा बैंक व्यवस्थापनले ध्यान दिन सकोस् भन्ने कामना गर्न चाहन्छु ।

बैंकको विध्यमान व्यवस्थापन र हामी सबै कर्मचारीहरु यस सँस्थामा सिमित कार्यकालका लागि आएका छौ; आफ्नो यस कार्यकालमा व्यक्तिगत लाभका लागि मात्र नसोची संस्थागत सुशासन, कुशल व्यवस्थापन र समय सापेक्ष नीतिहरु अबलम्बन गर्दै सँस्थाको गरिमा उचो हुने गरी आफ्नो कार्यकाल पछिका पिढीहरुलाई बैंक हस्तान्तरण गर्न सकियोस भन्ने कामना सहित आफ्नो मन्तव्य टुंग्याउन चाहन्छु ।

धन्यबाद ।

The brief version of speech I have delivered in the program is available on YouTube as well. (Struck through lines are skipped to contain it in 5:00 min, due to time constraint)